बुटवल । बुटवल कालिका क्याम्पसले बुधबार आफ्नो १२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित मनाएको छ। क्याम्पस परिसरमै आयोजित मुख्य समारोहको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले नकारात्मक सोच त्यागेर सकारात्मक मानसिकतासहित समयअनुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। पछिल्लो समय सूचना प्रविधिको दुरुपयोग र नकारात्मक सोच बढ्दै गएको उल्लेख गर्दै उनले प्रविधिलाई सही ढंगले उपयोग गर्न सकिए यसबाट ठूलो लाभ लिन सकिने बताए।

शैक्षिक पूर्वाधार र प्रविधि विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले त्यसका लागि मात्र ७ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। लुम्बिनी प्रदेशलाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताउँदै उनले त्यसको नेतृत्व बुटवलले लिनुपर्नेमा जोड दिए। “शिक्षा सुधार नगरी समाज सुधार सम्भव छैन,” उनले भने, “शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्न आवश्यक छ।”

उनका अनुसार लुम्बिनी प्रदेशमा हाल १२ लाखभन्दा बढी विद्यार्थी रहेका छन्। उनले पदभार ग्रहण गरेयता एसईई नतिजा सुधारका लागि विभिन्न पहल गरिएकाले उत्तीर्णता दर ३८.६५ प्रतिशतबाट गत वर्ष ६२ प्रतिशतमा पुगेको दाबी गरे। विद्यालय तथा क्याम्पसका कक्षा कोठामा प्रविधिको प्रयोग अझ प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवल कालिका क्याम्पसले शिक्षा क्षेत्रमै देशभर उदाहरणीय काम गर्दै आएको बताए। विद्यालयबाट क्याम्पससम्मको यात्रामा हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको उल्लेख गर्दै उनले युवालाई आकर्षित गर्न शिक्षा, सीप र प्रविधिलाई जोडेर नयाँ कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए। व्यावहारिक तथा सीपमूलक शिक्षामार्फत युवा पलायन रोक्न सम्भव रहेको उनले बताए।
क्याम्पस प्रमुख घनश्याम पाठकले उच्च शिक्षाका लागि युवाहरू विदेशिने क्रम नरोकेको बताउँदै सरकारले युवालाई देशमै अवसर दिलाउने नीति ल्याउनुपर्नेमा जोड दिए। छोटो समयमै क्यूएए प्रमाणिकरणसहित धेरै उपलब्धि हासिल गरेको क्याम्पसमा हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए। “बुटवललाई शिक्षाको शहरका रूपमा चिनाउन क्याम्पसले भूमिका खेलेको छ,” उनले भने, “अब यसलाई जोगाएर अघि बढाउनु चुनौती छ।”
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले प्राध्यापकको लगनशीलता, विद्यार्थीको अनुशासन र परिश्रमका कारण हरेक संकायमा उत्कृष्ट नतिजा आएको उल्लेख गरे। क्याम्पसमा डिजिटल प्रविधि विस्तार भइरहेका योजनाबारे पनि उनले जानकारी दिए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले शिक्षा सुधारमा समुदायको समान दायित्व रहेको बताए।
वार्षिकोत्सवको अवसरमा क्याम्पसले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार मेचीकाली राष्ट्रिय दैनिकका वरिष्ठ संवाददाता प्रकाश आचार्यलाई प्रदान गरिएको थियो। यस्तै, उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, क्याम्पस विकासमा योगदान पुर्याने प्राध्यापक तथा कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको जानकारी प्राध्यापक दामोदर घिमिरेले दिए। तेस्रो संस्करणको क्याम्पस मुखपत्र ‘नयाँ कदम’ पनि उक्त अवसरमा विमोचन गरिएको थियो। क्याम्पसमा बिसिए, बिए, बिएड, बिबिएस तथा एमए आरडीजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।
यसैबीच, एनएमबी बैंकले क्याम्पसको पुस्तकालयलाई थप व्यवस्थित बनाउन १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। बैंकका लुम्बिनी र कर्णाली प्रदेश प्रमुख मेघराज तिमिल्सिनाले क्याम्पस प्रमुख पाठक र अध्यक्ष गलामीलाई चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा शाखा प्रबन्धक भुवन पाण्डे, नवीन अर्याललगायतको उपस्थिति रहेको थियो।



