पुन: निर्माण कार्यमा तीव्रता दिन मन्त्री घिसिङको निर्देशन

by समतल अनलाइन
62Shares

काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्स्थापना छिटो गर्न मन्त्रालयका मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बुधबार शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले पुनर्स्थापना तथा पुनर्निर्माणका काम तीन/चार वर्ष लम्बन नहुने भन्दै ती काम प्राथमिकतामा राखेर अघि बढाउन निर्देशन दिएका हुन् ।

आन्दोलनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्र १२५ संरचनामा सामान्य (हरियो स्टिकर), १०० संरचनामा आंशिक (पहेँलो स्टिकर) र ४४ संरचनामा पूर्ण (रातो स्टिकर) क्षति पुगेको थियो।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सिंहदरबार, मन्त्री निवास, संसद भवनलगायत ५१ संरचना क्षतिको दायरामा परेका छन् । तीमध्ये १५ हरियो, २९ पहेँलो र ७ रातो स्टिकर छन् ।

विभागले हरियो स्टिकरवालामध्ये ८ भवन मर्मत पूरा गरिसकेको छ भने ३८ भवन अन्तिम चरणमा छन् । पहेँलो र रातो स्टिकरवालाको विस्तृत मूल्यांकन परामर्शदाता मार्फत भइरहेको छ । एक महिनाभित्र मूल्यांकन सक्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

You may also like

This will close in 0 seconds