बुटवल।रुपन्देहीका उद्योगी–व्यवसायी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुले दशकौँदेखि बुटवलमा हुँदै आएको पुस–मेला, औद्योगिक प्रदर्शनी तथा महोत्सवले आफ्नो छुट्टै पहिचान र बलियो ब्रान्ड कायम गरिसकेको भन्दै यस वर्षका आयोजक रुपन्देही उद्योग संघलाई सो ब्रान्ड जोगाएर अझ मजबुत बनाउन सुझाव दिएका छन्। उनीहरुले प्रदर्शनीलाई ‘बुटवलको व्यवसायिक पहिचान’का रूपमा जोगाउन र स्टल व्यवस्थापनदेखि सहभागी उद्योग छनोटसम्म सबै पक्षमा चुस्त योजना बनाउन आग्रह गरेका हुन्।
पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमा सञ्चालन हुन लागेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवबारे संघ–संस्थासँग गरिएको अन्तरक्रियामा सहभागीहरुले प्रदर्शनी बुटवलबाट सुरु भएर राष्ट्रभर फैलिएको भए पनि ‘यो स्तरमा कसैले आयोजना गर्न नसकेको’ भन्दै यसलाई अझ आधुनिक र परिणाममुखी बनाउने सुझाव दिए। उनीहरूले दीर्घकालीन रूपमा बुटवल क्षेत्रको पर्यटन, प्रविधि र व्यावसायिक विकासमा टेवा पुग्ने कार्यक्रम थप गर्नुपर्ने आवश्यकता औँल्याउँदै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी उद्योगलाई मात्र प्राथमिकता दिने उद्योग संघको निर्णयप्रति संघ–संस्थाहरुले समर्थन जनाए। बाहिर उत्पादन भएका सामग्रीलाई किर्ते रूपमा स्वदेशी नाममा राख्ने प्रवृत्ति रोक्न, म्याद गुज्रेका तथा अवैध वस्तु बिक्री हुने वातावरण नबनाउने गरी कडाइपूर्वक व्यवस्थापन गर्न उनीहरूको जोड थियो।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नयाँ–नयाँ नवप्रवर्तनमा लागेका युवा उद्यमीलाई प्रोत्साहित गर्दै बढ्दो निराशालाई चिर्न आवश्यक रहेको बताए। उनले हिजो–आजसम्मको ब्रान्ड जोगाउँदै व्यवस्थापनका पक्षमा अझ सावधानी अपनाई सबै संघ–संस्थाबीच संस्थागत सहकार्यबाट महोत्सवलाई सफल बनाउन सुझाव दिए।



