बुटवलमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा जितेस्वरी माविमा खानेपानी धारा निर्माण

by समतल अनलाइन
85Shares

बुटवल। लियो क्लब अफ बुटवल गोल्डेन जुब्लिले बुटवल–१३ बेलबासस्थित बदेलपोखरीमा रहेको जितेस्वरी माध्यमिक विद्यालयमा खानेपानी धारा निर्माण गरेको छ। विद्यालयमा अध्ययनरत करिब ५०० भन्दा बढी विद्यार्थीलाई लक्षित गरी सुरक्षित पिउने पानीको पहुँच सुनिश्चित गर्न धारा जडान गरिएको क्लबले जनाएको छ।

क्लबका संस्थापक अध्यक्ष भेषराज पोख्रेलको परिकल्पनामा स्वर्गीय उनका बुबा नुमराज पोख्रेलको स्मृतिमा उक्त धारा निर्माण गरिएको हो। शहरकै मध्यभागमा रहेको विद्यालयमा पनि उचित पिउने पानीको व्यवस्था नहुँदा धारा निर्माणका लागि विद्यालय छनोट गरिएको धारा निर्माण समितिका संयोजक गोकुल भण्डारीले जानकारी दिए।

सामाजिक रुपान्तरण र नेतृत्व विकासमा सक्रिय १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूले फजुल खर्च कटौती गरी मानवीय दायित्व वहन गर्ने उद्देश्यले यो योजनालाई साकार पारेका हुन्। क्लबका संस्थापक तथा पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सामूहिक आर्थिक योगदानमा धारा निर्माण सम्पन्न भइरहेको क्लब अध्यक्ष लियो अशोक श्रेष्ठले बताए।

धारा निर्माण समितिमा उपाध्यक्ष लक्ष्मण खनाल र सदस्य विशाल खनालले सक्रिय भूमिका निर्वाह गरेका छन्। अहिले सम्म करिब १ लाख रुपैयाँ खर्च भइसकेको र सम्पूर्ण काम सम्पन्न हुँदा करिब डेढ लाख रुपैयाँ लाग्ने अनुमान रहेको क्लबका कोषाध्यक्ष मनोज पाण्डेले बताए।

लियो क्लबका युवाहरूले सामुदायिक क्षेत्रमा देखिएको आवश्यकतामध्ये आधारभूत सेवामा पहुँच पुर्‍याउने उद्देश्यले यस प्रकारका सामाजिक परियोजनाहरू अघि बढाउँदै आएको क्लबले जनाएको छ।

You may also like

This will close in 0 seconds