बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको लापरवाहीका कारण बुटवलका एक युवक ठूलो साइबर ठगीको सिकार बनेका छन्। असम्बन्धित व्यक्तिलाई ई–सिम जारी भएपछि बुटवल ११ का समुद्र श्रेष्ठबाट स्क्यामरले ५ लाख ७१ हजार रुपैयाँ लुटेपछि पीडित र स्थानीय युवाहरूले मंगलबार बुटवलस्थित एनसेल सेन्टरमा ताला लगाए।
पीडित श्रेष्ठका अनुसार एक व्यक्तिले विदेश भ्रमणका लागि आवश्यक प्रक्रिया भन्दै पासपोर्ट, नागरिकताको प्रतिलिपीसहितका कागजात मागेका थिए। उनले जीवन पौडेल नाम बताएर आफू बुटवल दीपनगरकै हो भनी १५ दिनसम्म लगातार कुराकानी गरेका कारण आफू विश्वासमा परेको श्रेष्ठले बताए।

यिनै कागजातको दुरुपयोग गर्दै स्क्यामरले श्रेष्ठले प्रयोग गर्दै आएको एनसेल नम्बरको ई–सिम निकाले, सोही ई–सिममार्फत उनका विभिन्न बैंक खाताबाट रकम झिकेर गायब भएको हुन्।
श्रेष्ठले भने, “शुक्रबार साँझ अचानक मेरो फिजिकल सिम बन्द भयो। एनसेल अफिसमा बुझ्दा मेरो नम्बरबाट ई–सिम जारी भएको रहेछ। त्यसपछि मात्र बैंक खाताका रकम गायब भएको थाहा पाएँ।”
कागजात बुझाउने व्यक्तिसँग अहिले कुनै सम्पर्क हुन नसकेको पीडितको भनाइ छ। ई–सिम निकाल्ने क्रममा एनसेलका स्थानीय प्रतिनिधि मनिष क्षेत्रीको मिलेमतो रहेको आरोप पीडित तथा स्थानीय युवाहरूले सार्वजनिक रूपमा लगाएका छन्। उनीहरूका अनुसार प्रमाणबिना कसैलाई ई–सिम जारी गर्नु स्वयं एनसेल वितरण प्रतिनिधिको जिम्मेवारी भएकाले कारबाही आवश्यक छ।
यस विषयमा जवाफ मागिँदा एनसेल बुटवल क्षेत्रीय कार्यालयका बिजनेस हेड विनय डंगोलले आफूहरूलाई अहिलेसम्म आधिकारिक जानकारी नआएको बताए। उनले भने, “यो विषय केन्द्रीय कार्यालयको अधिकारक्षेत्रमा पर्छ। त्यहाँबाट जवाफ आएपछि मात्र बोल्न सक्छौँ।”
उता, ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले पीडितको उजुरी सोमबार प्राप्त भएको र साइबर ठगीसम्बन्धी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।



