विद्यार्थीलाई लागुऔषधबाट जोगाउन जि–२५ क्लबको विद्यालय केन्द्रित अभियान

by समतल अनलाइन
72Shares

बुटवल । सामाजिक क्षेत्रमा सक्रिय जि–२५ क्लबले बुटवल उपमहानगरभित्रका विद्यालयहरूमा लागुऔषध दुर्व्यसनविरुद्धको सचेतनामूलक मोटिभेशनल कार्यक्रम सञ्चालन गर्ने भएको छ। क्लबले मंसिर २४ देखि २६ गतेसम्म तीन दिनसम्म विभिन्न विद्यालयमा पुगेर छात्र–छात्रालाई लागुऔषधको जोखिम, असर र बच्ने उपायबारे जानकारी दिनेछ।

क्लबले मंसिर २४ गते बुटवल–११ स्थित प्रगति माध्यमिक विद्यालय, २५ गते बुटवल–१७ को नमुना गौतम जनशक्ति आधारभूत विद्यालय, २६ गते नवीन औद्योगिक कदरबहादुर सिता माध्यमिक तथा सूर्यदय आधारभूत विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिएको हो। क्लबका अध्यक्ष जयदिप न्यौपानेले स्थापना दिवसदेखि नै क्लबले सामाजिक चेतना तथा समुदायिक सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गरे। उनका अनुसार पछिल्लो समय विद्यालय तहका विद्यार्थीहरू लागुऔषधको प्रलोभनमा परिरहेको तथ्यले क्लबलाई विद्यालयमै पुगेर प्रत्यक्ष संवाद र मोटिभेशन कार्यक्रम गर्न प्रेरित गरेको हो।

अध्यक्ष न्यौपानेले बुटवल–११ मा अव्यवस्थित बसोबासीका कारण त्यहाँका बालबालिका गलत गतिविधितर्फ आकर्षित हुने गरेको भन्दै सो क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बताए। उनले सामाजिक सञ्जालको दुरुपयोगले पनि किशोरहरूलाई अनुचित कार्यतर्फ उक्साउने गरेको भन्दै अभिभावकले अतिरिक्त ध्यान दिनुपर्नेमा जोड दिए।

सचेतनामूलक कार्यक्रम आस्था समूहका सुमन हिताङ र सुमित कार्कीले संचालन गर्नेछन्। उनीहरूले मोटिभेशनल सत्रमार्फत विद्यार्थीलाई लागुऔषधको हानिकारक प्रभाव, आत्मअनुशासन र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने सचिव रमेश महराले जानकारी दिए।

सामाजिक उत्तरदायित्वका विविध कार्यमा संलग्न जि–२५ क्लबले विपन्न बालबालिकालाई सहयोग, बुटवलका विभिन्न क्षेत्रमा वृक्षारोपण, रक्तदान तथा सरसफाइ सम्बन्धी अभियानसमेत सञ्चालन गर्दै आएको छ।

You may also like

This will close in 0 seconds