काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले महिलालाई बारम्बार अपमान गरेको आरोप लगाएकी छन् ।
एमालेको ११ औँ महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आपत्ति जनाएकी हुन् । उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर अपमान गरेको घटनालाई उदाहरणसमेत पेश गरिन्।

शाक्यका अनुसार, गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटक-पटक अपमानजनक शब्द प्रयोग गर्नु गलत हो।
‘उहाँमा सोच नै छैन। महिलाप्रति दृष्टिकोण नै छैन। महिलालाई अपमान गरेको छ,’ शाक्यले भनिन्। महिला हिंसाविरुद्ध १६ दिने अभियान मात्रै होइन, निरन्तर आवाज उठिरहँदा पनि यस्तो शब्द प्रयोग गर्नु सबै महिलाको अपमान हो र यसको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताइन् ।
शाक्यले थपिन्, ‘पूर्वराष्ट्रपति, संविधानको संरक्षक भइसकेकालाई धामीझाँक्री भन्नु के हो ? यस्तो अपमान नेतृत्वले गर्न सक्दैन, तर ओलीले गरेका छन् । यस्तो नेतृत्व अबको आवश्यकता छैन। महिलालाई अपमान गर्ने नेतृत्वलाई समाजले स्वीकार्दैन।’
उपाध्यक्ष शाक्यले यस्तो नेतृत्वको आलोचना गर्दै अब महिलाको सम्मान गर्ने नेतृत्व आवश्यक भएको पनि बताइन् ।



