४६ साल यताका सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरौँ : प्रचण्ड

by समतल अनलाइन
34Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म सार्वजनिक भएका सबै काण्ड र २०४६ यताका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पुनः दोहोर्‍याएका छन् ।

भ्रष्टाचार विरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले लेखेका छन्,’प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसद्को रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्‍याउँछु।’

उनले थपे,’म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौँ। सुशासनका पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्त्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका धेरै मानकहरू स्थापित भए।’

प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभई निरन्तरको सङ्घर्ष भएको पनि बताए। यो दिवसले सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति सबैलाई थप जिम्मेवार बनाउने तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई सशक्त बनाउने विश्वास दिलाउनेमा उनको विश्वास छ ।

You may also like

This will close in 0 seconds