काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नहुने बताएका छन् ।
मंगलबार काठमाडौँमा पार्टीले आयोजना गरेको जनसभामा उनले यस्तो स्पष्ट पारेका हुन्। उनले सक्रिय राजतन्त्रका पक्षमा आफूहरू सहमत नरहेको भन्दै संवैधानिक राजसंस्था आवश्यक रहेको बताए ।

उनका अनुसार यो विषयमा आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि कुरा गरेर स्पष्ट पारिसकेको छ ।
‘धेरै साथीहरूले सक्रिय राजतन्त्रको कुरा गर्छन्। हामी त्यससँग सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ। मैले यो कुरा राजा (पूर्वराजा ज्ञानेन्द्र शाह) सँग पनि स्पष्ट पारेको छु,’ उनले भने।
उनले राजसंस्थाको भूमिका अभिभावकको रूपमा रहेको र देश चलाउने जिम्मेवारी नेपाली नागरिकको हातमा रहने बताए । ‘नेपालीले देश चलाउने हो, राजसंस्था अभिभावकको भूमिका निभाउँछ। यो विषयमा हामी स्पष्ट हुनुपर्छ। सनातन हिन्दु अधिराज्य कायम गर्ने चेतना जगाउने यो सभा हो,’ उनले भनाइ जोड्दै भने।



