काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आगामी निर्वाचनमा उम्मेदवार हुने बताएका छन्। उनले यो चुनावी प्रतिस्पर्धामा आफ्नो अन्तिम प्रयास हुने पनि बताएका छन्।
डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेपछि सर्वसम्मत सिफारिस गरिने निर्णय गरिएको छ।

सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले देउवाको निवासमा गई भेट गर्दा सभापतिले चुनावी मैदानमा उत्रने इच्छा व्यक्त गरेको बताए। उनीसँगको भेटमा ती नेताले भने, ‘साथीहरूले तपाईँ नै उठ्नुपर्यो भनेका छन्, म उठ्छु भन्नुभएको छ।’
नेविसंघका नेता भुवन भट्टले पनि मंगलबार बिहान देउवालाई भेटेर, सभापति देउवाले अन्तिम पटक चुनाव लड्ने निर्णय गरेको कुरा पुष्टि गरे।
कांग्रेसले यही महिनाको अन्तिमसम्म केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ । निर्वाचन क्षेत्रीय समितिले मंसिर २५ गतेसम्म प्रदेश समितिलाई नाम पठाउन भनिएको छ । कांग्रेस विधानअनुसार एक महिला सदस्यसहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
सभापति देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुरामा चुनाव जित्दै आएका छन्।



