बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गोविन्द बस्नेतलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ। आइतबार सम्पन्न अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदा मतदानमार्फत नेतृत्वको टुंगो लगाइएको हो।
कूल ३७ मत खसेकोमा बस्नेतले १९ मत ल्याउँदै विजयी भए भने उनका प्रतिस्पर्धी राजेश प्रसाद पाण्डे १८ मतमा रोकिए। अन्य पदाधिकारी भने सर्वसम्मतिमा चयन भएका छन्।
उपाध्यक्षमा दिपेश अर्याल, सचिवमा उपेन्द्र यादव, कोषाध्यक्षमा रामचन्द्र खरेल चयन भएका छन्। त्यस्तै सदस्यमा किरण राना, रामप्रसाद खड्का, शिव पौडेल र शिखर गिरि धिताल मनोनित भएका छन्।
नव–निर्वाचित अध्यक्ष गोविन्द बस्नेतले चुनावी परिणाम आएपछि प्रतिक्रिया दिँदै भने—
“माथि भरोसा गरेर नेतृत्वको जिम्मेवारी दिनुभएकोमा सबै सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। शैक्षिक परामर्शको भूमिका अहिले अत्यन्त महत्वपूर्ण मोडमा छ। विदेश पठाउनु मात्र हाम्रो काम होइन, योग्य युवालाई स्वदेश फर्केर यहाँ पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास जगाउनु ठूलो दायित्व हो। आगामी दुई वर्ष इक्यान रुपन्देहीलाई थप पारदर्शी, सक्रिय र सदस्य–मुखी संस्था बनाउने लक्ष्यसहित अघि बढ्नेछु।”
उद्घाटन सत्रमा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले जेनजी आन्दोलनपछि शिक्षा परामर्श केन्द्रहरूको दायित्व झनै बढेको भन्दै यस क्षेत्रले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, केन्द्रीय महासचिव दिपकराज भुसालले नीतिगत सुधार, समन्वय र राज्यसँगको संवादलाई प्रभावकारी बनाउन इक्यानले अगुवाइ लिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा विभिन्न जिल्लाका प्रतिनिधि, केन्द्रीय पदाधिकारी, सल्लाहकार तथा सरोकारवालाहरूले संस्था निरन्तर सक्रिय रहँदै सदस्यहरूको पेशागत हितमा काम गर्न सुझाव दिए।
इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देव कुँवरले स्थापना कालदेखि हालसम्मको यात्राबारे उल्लेख गर्दै आगामी दिनमा अझै संगठित रूपमा अघि बढ्नुपर्ने बताए।
कार्यक्रमको अन्त्यमा विदाइ हुँदै गरेका अध्यक्ष गिरीराज पाण्डेले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। सो अवसरमा विभिन्न व्यक्तित्व तथा सञ्चारकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो।



