काठमाडौँ । प्रहरीका लागि चुनौतीपूर्ण बनेको १३ वर्षीया अंशु गौतम हत्या प्रकरण दुई महिनापछि सुल्झिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घटनामा संलग्नलाई पहिचान गरी पक्राउ गरेको हो।
मोरङको लेटाङ नगरपालिका-२ स्कुलचोककी अंशुको हत्या आरोपमा छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ । अंशु बेपत्ता भएको र हत्या प्रकरण निर्मला पन्त केसजस्तै हुन पुगेको भन्दै आलोचना भइरहेका बेला प्रहरीले दुई महिनापछि घटनाको खुलासा गरेको हो ।
अंशु बेपत्ता भएको दुई महिना र शव फेला परेको ४४ दिनपछि पदमबहादुर पक्राउ परेका हुन् । गत ७ कात्तिकमा बेलबारी-चिसाङ साझेदारी वनभित्र स्थानीयले घाँस काट्ने क्रममा अंशुको क्षतविक्षत शव फेला पारेका थिए।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार घटनापछि झण्डै ३०० जनासँग सोधपुछ र तथ्य संकलनपछि पदमबहादुरमाथि शंका पुष्टि भयो । उनका अनुसार मृतक बालिका र पदमबहादुर छिमेकी थिए।
दसैँ सकिएको केही दिनपछि असोज २१ गते, अंशु साथी युरिका महतारासँग स्कुलनजिकैको चौरमा खेलिरहेकी थिइन्। त्यसबेला पदम अधिकारीले उनीहरूलाई बोलाए। प्रहरीले दिएको विवरणअनुसार युरिकाले पदमसँग पैसा मागेपछि उनले पाँच रुपैयाँ दिए । युरिका हिँडेपछि पदमले अंशुलाई घाँस काट्न सहयोग गर्न आग्रह गरे।
अंशु पैदल जंगलतिर लागिन् । पदम साइकलमा गए। जंगलको मुखमा पुगेपछि उनले अंशुलाई साइकलको पछाडि राखेर करिब ४ किलोमिटर भित्र लगे। त्यहाँ बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको, त्यसपछि हँसियाले घाँटी समेत काटेर शवको वीभत्स रूपमा व्यवस्थापन गरिएको प्रहरीले बताएको छ।
प्रहरी कार्यालय मोरङमा आइतबार विवरण सार्वजनिक गर्दा पदमलाई समेत उपस्थित गराइएको थियो। एसपी कटुवालका अनुसार, ‘यौन उद्देश्य, पारिवारिक विवाद र बदला भावनाले यो अपराध गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।’
अंशुको हत्या प्रकरणमा मुलुकी अपराध संहिता २०७४ अनुसार ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणीको मुद्दा दर्ता गर्न तयारी भइरहेको प्रहरीले जनाएको छ।
अंशु असोज २१ गते दिउँसोदेखि बेपत्ता थिइन्। परिवारले खोजी गर्दा नभेटिएपछि असोज २२ गते प्रहरीमा उजुरी गरिएको थियो। असोज २५ गते प्रहरी, स्थानीय र सेनाको संयुक्त टोलीले जंगल क्षेत्रमा सर्च अपरेसन चलाए पनि उनी फेला परिनन्। खोजीका क्रममा पदम स्वयं पनि सक्रिय देखिएका थिए ।
कात्तिक ७ मा बेलबारी–चिसाङ साझेदारी वनभित्र सडेको अवस्थामा शव फेला परेपछि अनुसन्धान तीव्र बन्यो। शवसँगै भेटिएका चप्पल, कालो हाफ पाइन्ट र घडीका आधारमा अंशु भएको पुष्टि भएको परिवारले बताए।
डिएनए परीक्षणका लागि नमूना संकलन गरी काठमाडौँस्थित प्रयोगशालामा पठाइएको छ। मोरङ प्रहरीले ‘अपरेसन ज्याग’ नाम दिएर विशेष टोली गठन गरी अनुसन्धान थालेको थियो । शव फेला परेको ६ दिनपछि पदम भारत गएकाले प्रहरीको शंका उनीतिर केन्द्रित भयो।
अंशुको शव कम्मरभन्दा तल र टाउको मात्र रहेको अवस्थामा फेला परेपछि प्रहरीले घटनालाई संवेदनशील मानेर विस्तृत अनुसन्धान अघि सारेको थियो।



