एम्बुलेन्समै ५१ किलो गाँजा, चालक पक्राउ

by समतल अनलाइन
102Shares

सर्लाही। उपचारका लागि हुने आपत्कालीन सेवामा प्रयोग हुने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा ढुवानी गरिएको घटना सर्लाहीमा खुलेको छ। हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट ठूलो परिमाणमा गाँजा बोकेर हिँडिएको एम्बुलेन्स आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता भएको ज १ च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले रोकजाँच गर्दा पक्राउ परेको हो। एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनासँगै एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सजस्तो संवेदनशील गाडी प्रयोग गरेर लागू पदार्थ तस्करी गरिएको पाइएपछि प्रहरीले थप अनुसन्धान थालेको छ।

यस्तै, लागू पदार्थ नियन्त्रण अभियानलाई तीव्र पार्दै प्रहरीले लालबन्दी नगरपालिका–११ हिरापुरबाट ५२ किलो गाँजासहित गङ्गाबहादुर वाइवालाई पनि नियन्त्रणमा लिएको छ। वाइवा सोही नगरपालिका–१४ नारायणखोला बस्ने २५ वर्षीय युवक भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै घटनामा सम्लग्न व्यक्ति र स्रोत–गन्तव्यबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ।

You may also like

This will close in 0 seconds