तिलोत्तमा ।शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिता को छनौट चरणअन्तर्गत वडानम्बर ५ को कार्यक्रम आज (शनिबार) सफलतापूर्वक सम्पन्न भएको छ।
नगरका सत्रै वडाका माध्यमिक तहका विद्यार्थीलाई “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धामा सहभागी गराउने अभियानअन्तर्गत यो कार्यक्रम गरिएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो।
कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका–५ का कार्यवाहक वडाध्यक्ष हरि पन्थले आफ्ना वडामा रहेका समस्या र सम्भावनाबारे नयाँ पुस्ताको दृष्टिकोण सुन्न पाउनु सुखद रहेको बताउनुभयो।
शुभयात्रा नेपाल मणिग्राम समितिका संयोजक रत्ना रिजालको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पाँच सूत्रीय योजनासहित अन्य रचनात्मक क्रियाकलापमार्फत संस्था देशभर सक्रिय रहेको बताए। उहाँका अनुसार नेपालका तीन देवभूमि क्षेत्र, सात गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटन प्रवर्द्धनमा शुभयात्रा नेपाल केन्द्रित छ।
कार्यक्रममा संस्थाका जिल्ला अध्यक्ष तथा विश्व वक्तृत्वकला प्रतियोगिताका सान्त्वना विजेता, जेसीज अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागी विद्यार्थीलाई प्रारम्भिक तालिम समेत प्रदान गर्नुभयो। प्रतियोगितापछि मौखिक तथा लिखित रूपमा सुझाव दिएको निर्णायक मण्डलका संयोजक कविता पन्थीले बताइन्।
छनौट प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.की स्मृति खराल पहिलो हुँदै नगरस्तरीय अन्तिम प्रतिस्पर्धामा प्रवेश गर्नुभएको छ।
यस्तै, गीर्वाण सरस्वती संस्कृत तथा साधारण मा.वि.का गणेश भट्टराई दोस्रो र राममणि क्याम्पसका आदित्य गैरे तेस्रो भएर पुरस्कृत भएका छन् भन्ने जानकारी कार्यालय व्यवस्थापक खिमकुमारी बस्यालले दिनुभयो।
मणिग्रामस्थित संस्थाको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा बाल सहजकर्ता मीना पौड्याल भट्टराई, आजीवन सदस्यहरू पुरूषोत्तम पाण्डे, राधा आचार्य, उमा ढकाल, स्वरूपमा कोइराला, साथै अन्य पदाधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रम जुना पुरीको सञ्चालन र किशोर पाठकको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।
अन्तिम प्रतियोगिता आगामी फागुन ७ गते हुनेछ। त्यसका लागि छनौट चरणअन्तर्गत वडानम्बर ६ को कार्यक्रम मंसीर २७ गते शनिबार डन मोडेल एकेडेमीमा सञ्चालन गरिने आनन्दवन समितिका संयोजक तुल्सी पाण्डेले जानकारी दिनुभयो।



