बुटवल।बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८२ को उपाधि होराइजन जिबिएसले जितेको छ। क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा जिबिएसले रोमाञ्चक जित निकाल्दै ट्रफी आफ्नो पक्षमा पारेको हो।
फाइनलमा गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा भएको थियो। निर्धारित समय र ट्राइबेकर दुवैमा बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो। सडेन डेथमा ४–३ ले जित निकाल्दै होराइजन जिबिएसले उपाधि हात पारेको हो।
उपाधिसँगै होराइजन जिबिएसले नगद ५५ हजार ५५५ रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता स्कलर्स होम स्कुलले ३३ हजार ३३३ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
सिद्धेश्वर खेलमैदानमा सम्पन्न फाइनल खेलपछि पुरस्कार वितरण कार्यक्रम आयोजित गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारी, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, प्रधानाध्यापक शंकर भण्डारी, प्याप्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले विजेतालाई पुरस्कार वितरण गरे।
प्रतियोगितामा स्कलर्स होमका क्याप्टेन सुसान्त थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए भने होराइजन जिविएसका अज्जु सारु मगर उत्कृष्ट गोलरक्षक बने। स्कलर्स होमका सुमित पुलामी मगर सर्वाधिक स्कोरर घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत भए। फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ पनि होराइजन जिविएसका अज्जु सारु मगर नै बने।
मुख्य अतिथि रमाकान्त तिवारीले विद्यालय तहमै यस्ता प्रतियोगिता सञ्चालन हुनु सकारात्मक भएको बताए। उनले क्यानन माविले सेभेन ए साइड फुटबललाई निरन्तरता दिँदै युवा खेलाडी उत्पादनमा योगदान पु¥याइरहेको उल्लेख गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेल र प्रधानाध्यापक शंकर भण्डारीले प्रतियोगिताले रुपन्देहीबाट राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। क्याननले गत वर्षदेखि प्रतियोगितालाई ब्रान्डका रूपमा सञ्चालन गर्दै आएको छ।
मंसिर १४ गतेबाट सुरु भएको प्रतियोगितामा ३० विद्यालयले सहभागीता जनाएको अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिए। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने निकाय तथा व्यक्तिलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो।
गत वर्ष स्कलर्स होम बोर्डिङ स्कुल च्याम्पियन बनेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो।



