58
स्याङ्जा । जबरजस्ती करणी मुद्दामा १२ वर्षदेखि फरार रहेका मेगबहादुर भुजेल पक्राउ परेका छन्। पुतलीबजार नगरपालिका–८ का स्थायी र हाल वडा–१४ पिपलडाली बस्ने ५७ वर्षीय भुजेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
उनी २०६९ भदौ २७ गते पुतलीबजार–१४ को जंगलमा ११ वर्षीया बालिकामाथि गरिएको जबरजस्ती करणी घटनामा संलग्न रहेका भन्दै अदालतले दोषी ठहर गरेको थियो। जिल्ला अदालत स्याङ्जाले २०७३ मंसिर २३ गते उक्त मुद्दामा उनलाई १५ वर्ष कैद सजाय सुनाएको थियो तर फैसला पश्चात् उनी फरार रहेका थिए।
प्रहरीले पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरेको छ। अदालतको आदेशअनुसार भुजेललाई कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।



