समयमै निर्वाचन गरेर युवा शक्तिलाई सत्ता हस्तान्तरण गर्ने मन छ : प्रधानमन्त्री

by समतल अनलाइन
61Shares

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको स्पष्ट पारेकी छन् ।

२२औँ ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रुत विकासको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै उनले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुन आह्वान गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराइ युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासको मार्गमा लैजानु हाम्रो दायित्व हो। त्यसैले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकार पूर्ण रूपमा तयारीमा जुटिरहेको छ। यस अभियानलाई सफल बनाउन सबै नेपालीको सहयोग अपेक्षा गर्दछु।’

उनले ५०० भन्दा बढी गुठीहरूले सम्हाल्दै आएको सांस्कृतिक परम्परा, जात्रा र पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गरिन् । सरकारले यसका लागि सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रधानमन्त्री कार्कीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संस्कृतिलाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने क्रममा मौलिक नीतिहरूलाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

You may also like

This will close in 0 seconds