हिउँदमा कम वर्षा र बढी तापक्रमको सम्भावना

by समतल अनलाइन
48Shares

काठमाडौं ।आगामी हिउँदे मौसम (मंसिर १५ देखि फागुन १६) मा देशका अधिकांश भूभागमा वर्षा सामान्यभन्दा कम हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। विभागका अनुसार यस अवधि धेरै स्थानमा तापक्रम पनि सरदरभन्दा उच्च रहनेछ।

विभागले सार्वजनिक गरेको मौसमी आकलनअनुसार सुदूरपश्चिम र कर्णालीका उत्तरी भूभाग तथा गण्डकी प्रदेशका उत्तर–पश्चिम क्षेत्रमा सरदरभन्दा कम, सरदर बराबर वा सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना देखिएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिमको पूर्वी र दक्षिणी क्षेत्र, कर्णालीको दक्षिणी भाग, लुम्बिनीको पश्चिमी भूभाग, बाग्मतीको दक्षिणी भाग, मधेसको उत्तरी क्षेत्र र कोशी प्रदेशका मध्य–पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५–६५ प्रतिशतसम्म रहेको छ।

यस्तै, सुदूरपश्चिम र कर्णालीका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी क्षेत्र, गण्डकीका पूर्वी भाग, बाग्मतीका मध्य–उत्तरी भाग, मधेसका दक्षिणी क्षेत्र र कोशीका केही भूभागमा वर्षा कम हुने सम्भावना ४५–५५ प्रतिशत रहने विभागले अनुमान गरेको छ। बाँकी क्षेत्रका लागि यो सम्भावना ३५–४५ प्रतिशतको दायरामा रहेको छ।

विभागका अनुसार यो हिउँदमा देशका धेरै ठाउँमा अधिकतम तापक्रम पनि सरदरभन्दा उच्च रहने छ।
गण्डकी प्रदेशका उत्तर तथा दक्षिण भूभाग, बाग्मतीको दक्षिण क्षेत्र र कोशी प्रदेशका उत्तर–दक्षिण–पश्चिम भूभागमा तापक्रम बढ्ने सम्भावना ५५–६५ प्रतिशत रहेको छ।

कर्णालीका उत्तरी क्षेत्र, लुम्बिनीको उत्तरी भाग तथा कोशी, बाग्मती र गण्डकीका बाँकी भूभागमा तापक्रम सामान्यभन्दा बढी हुने सम्भावना ४४–५५ प्रतिशत रहेको विभागको आकलन छ।

सुदूरपश्चिम, कर्णालीको दक्षिण–पश्चिम तथा लुम्बिनी प्रदेशको पश्चिम भागमा अधिकतम तापक्रम बढ्ने सम्भावना ३५–४५ प्रतिशत रहेको जनाएको छ।
लुम्बिनीको दक्षिणी भाग र मधेस प्रदेशमा भने तापक्रम कम, सरदर बराबर वा बढी—तीनैको समान सम्भावना रहेको विभागले बताएको छ।

हिउँदभर रातको न्यूनतम तापक्रम पनि धेरै भूभागमा सामान्यभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिमका उत्तरी र दक्षिण–पश्चिम भूभाग, कर्णालीका मध्य–उत्तर क्षेत्र, लुम्बिनीका अधिकांश भाग, बाग्मती प्रदेशका उत्तर–पूर्व र दक्षिण–पश्चिम क्षेत्र, मधेस प्रदेशका धेरै भूभाग तथा कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम क्षेत्रमा न्यूनतम तापक्रम सामान्यभन्दा बढी हुने सम्भावना ५५–६५ प्रतिशत रहेको छ।
देशका बाँकी क्षेत्रमा यो सम्भावना ३५–५५ प्रतिशतको दायरामा रहने अनुमान गरिएको छ।

You may also like

This will close in 0 seconds