बुटवलमा श्रीमतीले चक्कु प्रहार गर्दा श्रीमान गम्भीर घाइते

by समतल अनलाइन
63Shares

बुटवल । बुटवल–११ नहरपुरमा घरायसी विवादले उग्र रूप लिँदा श्रीमतीले चक्कु प्रहार गरी श्रीमान् गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार ३८ वर्षीया पवित्रा गुरुङले मध्यराति सुतेका ३० वर्षीय सुरज गुरुङलाई टाउको र घाँटीतिर चक्कु प्रहार गरेकी हुन्।

घटना राति करिब २ बजेतिर भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णुदेव गिरीले जानकारी दिए। गम्भीर घाइते सुरजलाई प्रारम्भिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रेफर गरिएको छ।

स्थानीयवासीका अनुसार दम्पतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। झगडाको कारण श्रीमान् छुट्टै कोठामा सुत्ने गरेका थिए। सोही कोठाको ढोका फोडेर पवित्राले आक्रमण गरेको स्थानीयहरूले बताएका छन्।

वडा सदस्य नकुल शाही ठकुरीले “दिनहुँ दोहोरिने आपसी झगडा हिंसामा बदलिँदा यस्तो घटना भएको” बताए। पवित्रा मानसिक तनावको औषधि सेवन गरिरहेको परिवारले जनाएको छ।

घाइते सुरज बुटवल उपमहानगरपालिकामा नगर प्रहरीका रूपमा कार्यरत छन्। दम्पतीको ७ वर्षीय एक छोरा छ।

You may also like

This will close in 0 seconds