सन्तोष परियारको दावी : ८४ को चुनावमा रास्वपाले कम्तीमा १५० सिट जित्छ

by समतल अनलाइन

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आउँदो २०८४ सालको चुनावमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् ।

आज (शनिबार) चाँगुनारायण नगर समिति वडा नं–५ को प्रथम ऐतिहासिक वडा अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित परियारले रास्वपालाई जनताले आशा र भरोसा राखेको पार्टीको रूपमा चित्रण गरेका छन् । उनले समावेशी र समतामूलक समाज निर्माणमा रास्वपाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा समावेशिताको अभावका कारण नै प्रगतिशील समाज निर्माणमा अवरोध भइरहेको बताउँदै रास्वपाको विचार र सिद्धान्त जनताले स्वीकारेमा अन्य कुनै पनि दल ठूलो पार्टी बन्न नसक्ने दाबी गरे ।

अधिवेशनले राजु भण्डारी क्षेत्रीको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको छ। समितिमा ज्योति लामिछाने उपाध्यक्ष, निपेश भण्डारी सचिव, र ज्ञानकिशोर केसी, सुजिता भण्डारी (बुढाथोकी), तारा कम्मर, पूजा भण्डारी, रामप्रसाद हाकजु र सरोज नेपाली सदस्यका रूपमा निर्वाचित भएका छन् ।

यस्तै, चाँगुनारायण वडा नं–४ मा पनि वडा अधिवेशन सम्पन्न भएको छ। यस वडामा केशव खनालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । समितिमा कृष्ण मगर उपाध्यक्ष, नवराज न्यौपाने सचिव र गोविन्द तामाङ, भुवन बजागाईं, रत्नलाल भडेल, गंगा केसी, लक्ष्मी देवकोटा खनाल र जुना खनाल सदस्य रहेका छन् । पार्टीको सदस्यताको आधारमा चाँगुनारायण नगरपालिका वडा नं–५ रास्वपाको सबैभन्दा बलियो आधार रहेको वडा मानिएको छ । नगर सभापति रोशन थापा पनि यही वडाका बासिन्दा हुन्।

 
 
  
 

You may also like