कपिलवस्तु।कपिलवस्तुको विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौँ अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अधिवेशनमा अर्धवार्षिक प्रगति विवरणसहितको पूरक बजेट र कार्यक्रम प्रस्तुत गरेकी छन् ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाको समग्र विकासमा जनप्रतिनिधिहरूले थप चासो दिनुपर्ने आवश्यकता औंल्याए । जनप्रतिनिधिहरूले जनताको समस्या नजिकबाट अवलोकन गरेकाले तिनका आवश्यकताहरू पूरा गर्न सजिलो हुने उनको भनाइ थियो ।
स्वास्थ्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष थापाले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन स्वास्थ्य बिमा बोर्डसँग ५० प्रतिशत अनुदानमा सम्झौता गरिएको जानकारी दिए । उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन घरदैलो अभियान सञ्चालन गर्नसमेत आग्रह गरे । गाउँ ब्लक लालपुर्जा वितरणको कार्य गाउँपालिकामै भइरहेको बताउँदै उनले कुनै पनि नागरिक छुट्न नदिन जनप्रतिनिधिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानको आकार बढ्दै गएको र गैरसरकारी संस्थाहरूको सहकार्यबाट स्रोत साधनको उपलब्धता वृद्धि भएको बताइन् । उनले गाउँपालिकाको उर्वर कृषि भूमि, वन पैदावर, नदिजन्य पदार्थ, र जनसांख्यिकीय लाभांशको प्रभावकारी उपयोगमार्फत समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिकाका हरेक गतिविधि पारदर्शी बनाउनु पर्नेमा जोड दिए । उनले प्रशासनिक र कार्यसम्पादन प्रणालीलाई चुस्त बनाउँदै सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे । अधिवेशनले गाउँपालिकाको विकास र समृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको छ ।