बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको पूर्ण परीक्षण भ्रमण सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०३८ सालमा स्थापित यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोग, नेपालले प्रदान गर्ने क्यूएए तेस्रो चरणका लागि अन्तिम ढोका खोल्ने तयारी गरेको हो । तेस्रो चरणको क्यूएए प्रदान गर्नका लागि अन्तिम चरणको मुल्यांकन गर्न आएको विदेशी विज्ञ सहितको पूर्ण परीक्षण भ्रमण टोलीले यहीँ पौष २२ गतेदेखि २६ गतेसम्म १२० सूचकभित्र रहेर सरोकारवालाहरुसङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
टोली संयोजक प्रा.डा. गोविन्द प्रसाद आचार्य, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा. अभिनास चन्द्र पाण्डे, प्रा.डा. रेजिना मास्के, प्रा.डा. नन्दिता शर्मा, सहायक निर्देशक नारायण भण्डारी सहितको टोलीले क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी, प्राध्यापनरत प्राध्यापक, अभिभावक, क्याम्पस सञ्चालक समिति, स्ववियु, भूपू विद्यार्थी, विभिन्न कार्यक्रमका डाइरेक्टर तथा इन्चार्ज, विभिन्न समूहका संयोजक, विभागीय प्रमुख, रोजगारदाता, स्थानीय समाजसेवी लगायत सरोकारवाला पक्षहरुसङ्ग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरेको हो साथै उक्त टोलीले विभिन्न शैक्षिक तथा प्रशासनिक विभागहरु, कक्षा कोठा, चमेना गृह, डिजिटल लाइब्रेरी लगायतको अवलोकन पनि गरेको छ ।
पाँच दिने अवलोकनपछि प्रतिवेदन प्रस्तुत गर्दै भ्रमण टोलीका संयोजक प्रा.डा. गोविन्द प्रसाद आचार्यले तेस्रो चरणको क्यूएएका लागि टोलीको तर्फबाट शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् समक्ष प्रतिवेदन बुझाउने बताउनुभयो साथै उहाँले गुणस्तरको अन्तिम विन्दु नहुने भएकाले गुणस्तर अभिवृद्धिमा निरन्तर अगाडी बढ्न क्याम्पसलाई अनुरोध गर्दै आफ्नो टोलीले प्रतिवेदन मार्फत केही सुझावहरु क्याम्पसलाई दिएको बताउनुभयो । समापन कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा. अभिनास चन्द्र पाण्डेले क्याम्पस भौतिक तथा शैक्षिक गुणस्तरमा अब्बल रहेको बताउदै क्याम्पसले प्रदान गरेको न्यानो आतिथ्यताको प्रसंशा गर्नुभयो साथै उहाँले क्याम्पसलाई तेस्रो चरणको क्यूएए प्राप्तीका लागि शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै प्रा.डा. नन्दिता शर्माले लुम्बिनी वाणिज्य क्याम्पसको भ्रमण गर्ने पहिल्यैदेखिको इच्छा पूरा भएको र क्याम्पस सोचेभन्दा उत्कृष्ट रहेको बताउनुभयो । विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक नारायण भण्डारीले भ्रमणका क्रममा भ्रमण टोलिलाई क्याम्पसले पु¥याएको सहयोगको लागि आभार व्यक्त गर्नुभयो ।
भ्रमण टोलिले २८ पृष्ठको प्रतिवेदन तयार पारेको र उक्त प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग नेपालमा पेश भएपछि तेस्रो चरणको क्यूएए बारे निर्णय हुने क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले बताउनुभयो । समयमै प्रमाणपत्र प्राप्त ग¥र्यौ भने तेस्रो पटक क्यूएए पाउने पहिलो शैक्षिक संस्था लुम्बिनी वाणिज्य क्याम्पस बन्ने उहाँले बताउनुभयो ।
स्याट संयोजक उपप्राध्यापक पुनाराम घिमिरेको सञ्चालन रहेको समापन समारोहमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले टोलीलाई अन्तिम मुल्यांकनको लागि धन्यवाद ज्ञापन गर्दै क्याम्पसको लक्ष्य विश्वविद्यालयमा रुपान्तरण हुने रहेकाले उहाँहरुको मुल्यांकन र सुझाबले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक २०६८ सालमा क्यूएए प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले २०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो भने २०७५ र २०८० सालमा सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकारबाट पुरस्कृत भएको क्याम्पस २०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्धितीयबाट विभुषित समेत भएको थियो । गुणस्तरीय शिक्षामा अब्बल रहेको क्याम्पसले पटकपटक विश्वविद्यालय प्रथम, दोस्रो, तेस्रो समेत हुने गरेको छ भने क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँच वटा स्वायत्त कार्यक्रमहरु सञ्चालन गरेर विश्वविद्यालयको जग तयार पार्ने काम गरिरहेको छ । हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थीहरु, ४८ जना प्राध्यापक र २७ जना कर्मचारी रहेका छन