कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयन प्रक्रियामा देखिएका विकृतिहरू अन्त्य गर्न प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढेको बताएका छन्।
कपिलवस्तुको आनन्दनगरमा आयोजित मदन-आश्रित स्मृति भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना छनोट तथा कार्यान्वयनमा सुधार ल्याउनका लागि टुक्रे योजनालाई निरुत्साहित गर्ने, पाँच लाख रुपैयाँभन्दा माथिका योजनाहरू प्रतिस्पर्धात्मक प्रक्रियाबाट लागू गर्ने निर्णय गरिएको स्पष्ट पारे।
“उपभोक्ता समितिको नाममा भइरहेका अनियमिततालाई रोक्न प्रदेश सरकार निर्मम बनेर अघि बढेको छ,” उनले भने। “सरकारले सुशासनलाई सुदृढ गर्दै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने नीति अवलम्बन गरेको छ।”
उनले संघीयतालाई बलियो बनाउन तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेकोमा जोड दिए।
मदन-आश्रित स्मृति भवन निर्माणका लागि एक करोड रुपैयाँको लगानी छुट्याइएको छ। शिलान्यास समारोह एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बावुराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मुख्यमन्त्री आचार्यका साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, एमाले कपिलवस्तु जिल्ला इञ्चार्ज गिरिधारीलाल न्यौपानेलगायतले सम्बोधन गरेका थिए।