नगेन्द्र केसी
शुद्धोदन। रुपन्देहीको शुद्धोदन-३, रमवापुरस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रमाणीकरण प्राप्त गरेको छ। यस अवसरमा क्याम्पसले आफ्नो २१औं वार्षिकोत्सवको अवसर पारेर विशेष समारोह आयोजना गरेको थियो।
उक्त समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनेन्द्र कार्कीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले क्याम्पसलाई प्राप्त संस्थागत प्रमाणीकरणको लागि बधाई दिँदै प्रदेश सरकारबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो। विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरको सिफारिसमा शैक्षिक गुणस्तर आश्वासन तथा मान्यता परिषद्को स्वीकृतिसहित क्याम्पसलाई QAA प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकाल, लुम्बिनी प्रदेश योजना आयोग सदस्य शान्ता ढकाल, संविधानसभा सदस्य सोनिया यादव, पूर्व प्रदेशसभा सदस्य पुष्पा चौधरी, नेपाली कांग्रेस शुद्धोदनका अध्यक्ष दामोदर पौडेल, नेकपा (एमाले) शुद्धोदनका अध्यक्ष राजेन्द्र कडेल, राष्ट्रिय स्वतन्त्र पार्टी शुद्धोदनका अध्यक्ष बौद्धलाल शर्मा लगायत विभिन्न अतिथिहरूले क्याम्पसको उपलब्धिको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।
क्याम्पस प्रमुख टंक पौडेलले क्याम्पसको शिक्षात्मक तथा भौतिक पूर्वाधार सुधारका लागि यो प्रमाणीकरण कोसेढुंगा सावित हुने बताउनुभयो। साथै, क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ शर्माले क्याम्पसको निरन्तर सुधारका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख भेषराज ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक समिति सदस्य रामप्रसाद खनालले दिनुभएको थियो। समारोहमा क्याम्पसका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
QAA प्रमाणीकरणले क्याम्पसको शैक्षिक स्तरलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै सम्पूर्ण व्यवस्थापन टोली, शिक्षक-विद्यार्थी तथा शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।