82
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो जाँदा आज (बुधबार) बिहानैदेखि यातायात अवरुद्ध भएको छ । पहिरोका कारण गाडीको आवतजावत ठप्प भएको छ ।
आज बिहान सवा चार बजेतिर सो सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो गएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो सडक खण्ड राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य राजमार्ग हो । मुग्लिनदेखि लगभग चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालिखोला रहेको छ ।
पानी परिरहेका कारण अझै पनि कालिखोलामा पहिरो खसिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिएका छन् ।
पहिरो गएको ठाउँमा प्रहरी टोली पुगेर डोजर लैजान पहल भइरहेको उनले बताएका छन् । विस्तारको काम पूरा भए पनि नारायणगढ मुग्लिन सडकमा पहिरो खस्ने घटना यथावत छ ।