काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शुक्रबार बिहान) कोशी, बागमती र मधेस प्रदेशसहित देशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका केही भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ ।
देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
पश्चिम नेपालबाट भित्रिएको न्यून चापीय प्रणालीले बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा गराएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, उक्त मौसमी प्रणालीका कारण डडेलधुरा, डोटीलगायतका स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको थियो । यस्तै, दूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हिमपात भएको थियो ।
‘पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको देखिएको छ । प्रायः ठाउँमा सामान्य र थोरै स्थानमा मध्यम वर्षसम्म भएको देखिन्छ । उच्च हिमाली भेगमा हिमपात पनि भएको छ। हाम्रो वेदर क्यामेराहरूले पठाएका फोटोहरूले सामान्यदेखि मध्यम हिमपात भएको देखाएका छन्,’ उनले भने ।
डडेलधुराको साहुखर्कमा १६ मिलिमिटरसम्म वर्षा भएको छ । यस्तै, बाजुरामा १३.४ मिलिमिटर ताथा डोटीमा पनि १०.२ मिलिमिटर वर्षा भएको छ । तर, आजदेखि उक्त मौसम प्रणाली लगभग सकिएको मौसमविद् पुडासैनीले बताए ।