बुटवल। बुटवल-११, कालीकानगर भुवनसिंह मार्गस्थित इन्टलेक्चुअल स्कूलमा बिहीबार निशुल्क स्वास्थ्य परीक्षण तथा खाना महोत्सव सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको यस कार्यक्रमअन्तर्गत अभिभावक तथा विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै विविध खेलकुद कार्यक्रमहरू समेत सञ्चालन गरिएको थियो।
स्वास्थ्य परीक्षण कार्यक्रम लुम्बिनी प्रादेशिक अस्पतालका नाक, कान तथा घाँटी रोग विभाग प्रमुख डा. विष्णु शर्माको नेतृत्वमा सम्पन्न भएको थियो। उक्त परीक्षणमा तिलोत्तमा हस्पिटल, बुटवलका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. मोहनलाल तिवारी, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालविशेषज्ञ डा. नेत्र बहादुर राना, कन्सल्टेन्ट फिजिसियन डा. सागर पौडेल तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. सबिता अर्याल लगायतका चिकित्सकहरूले अभिभावक तथा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।
यसै अवसरमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले परम्परागत नेपाली खाना महोत्सवको आयोजना गरेका थिए। महोत्सवमा विद्यार्थीहरूले विभिन्न नेपाली परिकारहरू तयार गरी अभिभावक तथा शिक्षकहरूलाई खुवाएका थिए, जसलाई उपस्थित सबैले निकै रुचाएका थिए। साथै, कक्षा ५ का विद्यार्थीहरूले फलफूल, तरकारी तथा गेडागुडीहरूको स्टल राखी खरिद-बिक्री समेत गरेका थिए।
स्वास्थ्य परीक्षण र खाना महोत्सवसँगै विद्यालयले तेस्रो त्रैमासिक परीक्षाको नतिजा पनि सार्वजनिक गरेको थियो। यस प्रकारका कार्यक्रमहरू विद्यार्थीहरूमा व्यावहारिक शिक्षा, स्वास्थ्यप्रति सचेतना तथा सामाजिक उत्तरदायित्व बढाउने उद्देश्यले आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।