सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहल जरुरी : अध्यक्ष प्रचण्ड

by समतल अनलाइन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मी र बाग्लुङ जिल्लाको सिमानामा आज भएको सवारी दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले बडीगाड गाउँपालिका–७ भीमगिठे नजीकै भएको सवारी दुर्घटनामा परी १४ जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले उक्त दुर्घटनामा निधन हुनुभएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले देशका विभिन्न भागमा हुने यस प्रकारका सवारी दुर्घटना नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्र्याइँ समेतका कारण रहँदै आएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ ।” उहाँले दुर्घटनामा परी निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्तिका साथै बेपत्ताको खोजी र घाइतेको निःशुल्क स्वास्थ्योपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।

 

 
 
  
 

You may also like