आन्दोलन दबाउन प्रहरीले नै चितवन मेडिकल कलेजभित्र पेस्तोल राखेको विद्यार्थीको दाबी

by समतल अनलाइन

चितवन। सरकारले तोकेभन्दा बढी शुल्क उठाउने कलेजविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेका वेला चितवन मेडिकल कलेजमा पेस्तोल भेटिएको छ । न्यायको आवाज दबाउन अनेक उपाय लगाएको कलेजले प्रहरीसँग मिलेर पेस्तोल राखेको विद्यार्थीको आशंका छ ।

प्रमुख जिल्ला अधिकारीको रोहबरमा ४ असोजमा बसेको सर्वपक्षीय बैठकमा कलेजले १८ कात्तिकभित्र रकम फिर्ता वा समायोजन गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेपछि विद्यार्थीले आइतबार विरोध र्‍याली निकाल्ने तयारी गरेका थिए । मूल मुद्दा विकेन्द्रित गर्दै आन्दोलन दबाउने र आफूहरूलाई फसाउने मनसायले गम्भीर षड्यन्त्रमा पेस्तोल राखिएको उनीहरूको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले नीलो झोलामा पेस्तोलसहितका सामग्री कलेजको होस्टेलअगाडि चौरमा भेटिएको बताएका छन् ।

सूचनाका आधारमा आफूहरू कलेज पुगेर ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, वाइको म्यागजिन एक थान, वाइको गोली दुई थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान, थ्री नट थ्रीको फायर भएको खोका एक थान र एसआरआर राइफलमा लाग्ने फायर खोका ६ थानसहित रेसमी विद्युतीय तार बरामद गरेको उनले बताए । प्रहरीले कलेजका चार गार्डलाई नियन्त्रणमा लिएको छ ।

‘हतियार बरामद गरेका छौँ । सो घटनामा शंका लागेका कलेजका चार गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको छ,’ कोइरालाले भने, ‘अनुसन्धान भइरहेकाले बाँकी विषय बोल्न मिल्दैन ।’

घटनापछि प्रहरीले विद्यार्थीसहित कलेजलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको घेरा तोडेर बाहिर आएका विद्यार्थी आइतबारको आन्दोलन सफल बनाउने भन्दै चौबिस कोठीमा जम्मा भइसकेका छन् । आइतबारको आन्दोलन हुन नदिने कलेजको षड्यन्त्र सफल हुन नदिने विद्यार्थीले बताएका छन् ।

विद्यार्थीसँग बढी शुल्क लिएपछि निरन्तर आन्दोलन
चितवन मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरू कलेज प्रशासनसँग असन्तुष्ट हुँदै निरन्त आन्दोलनमा छन् । शुल्क विवादका कारण कलेजमा झण्डै तीन महिनादेखि अध्ययन–अध्यापन हुन सकेको छैन । कलेजले ६ लाखदेखि २० लाखसम्म अतिरिक्त शुल्क असुलेको विद्यार्थीको आरोप छ ।

चितवन मेडिकल कलेज चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दका अनुसार कलेजले मात्र आठ सयभन्दा बढी विद्यार्थीको ३२ करोड फिर्ता र २२ करोड समायोजन गर्नुपर्नेछ । तर, कलेजले भने विभिन्न शुल्क कट्टा गरी एमबिबिएसतर्फ ९० जना र बिडिएसतर्फ ३६ जनाको रकम मात्र समायोजन गनुपर्ने जिम्मेवारी रहेको दाबी गरेको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like