रुपन्देहीका पाँच पालिकामा छैनन् शिक्षाका कर्मचारी

by समतल अनलाइन

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका कार्यालयको शिक्षा शाखा वैशाखदेखि कर्मचारीविहीन छ । गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी नआउँदा एउटा विद्यालयका प्रधानाध्यापक (प्रअ) लाई जिम्मेवारी दिइएको छ ।
गैडहवाको विष्णुपुरा माविका प्रधानाध्यापक कृष्णनारायण कुर्मी विद्यालय र गाउँपालिका कार्यालय दुवैतिर धाउनुपरेको छ । ‘विद्यालयमा पढाएर अपरान्ह गाउँपालिका कार्यालय पुग्छु । आवश्यक परेर कार्यालयबाट फोन आयो भने जतिखेर पनि आउँछु–उनी भन्छन्–तत्काल गर्नुपर्ने केही काम कार्यालयमै गर्छु । बाँकी कामहरु रेकर्ड बनाउने, हिसाब कितावका काम घरमै गर्ने गरेको छु ।’
विद्यालय र गाउँपालिका कार्यालय दुवैतिर धाउँदा समस्या भएको र शिक्षा कार्यालयले गर्ने कतिपय काम आफूलाई थाहा पनि नहुने कुर्मीको भनाइ छ । ‘कार्यालयले गर्ने काम शिक्षकले गर्नुपर्दा गाह्रै हुन्छ । कतिपय प्राविधिक काम हामीलाई थाहै हुँदैन ।’

वैशाख अघि श्रोतकेन्द्रका श्रोत व्यक्तिलाई पालिकाको शिक्षा शाखाको जिम्मा दिइएको थियो । कर्मचारी समायोजन पछि गैडहवाको शिक्षा शाखा हेर्ने ढुण्डीराज भण्डारी आफ्नै विद्यालयमा गएपछि अहिले कर्मचारीविहीन भएको हो । शिक्षा शाखा खाली भएपछि गाउँपालिकाको निर्णय अनुसार विष्णुपुरा माविका प्रधानाध्यापक कुर्मीलाई पालिकाको शिक्षा शाखाको पनि जिम्मेवारी दिइएको हो ।

गाउँपालिकाको शिक्षा शाखा रिक्त हुँदा विद्यालयहरुलाई पनि समस्या हुने गरेको छ । शिक्षाका कर्मचारी नहुँदा शैक्षिक गतिविधि राम्रोसँग सञ्चालन गर्न हुन नसकेको सुर्यपुरा माविका प्रअ सरवरे आलमले बताए ।

‘विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन तथा गतिविधिका लागि शिक्षा कार्यालयको सहयोग र समन्वय चाहिन्छ ।’ उनले भने ‘परेको बेलामा सोझै आफ्ना कुराहरु राख्न समस्या भएको छ । विद्यालयमा के के कार्यक्रम आए, कति बजेट आयो लगायतका जानकारी पाउन पनि गाह्रो हुन्छ ।’
गैडहवामा मात्र होइन रुपन्देहीकै अर्को रोहिणी गाउँपालिकामा पनि त्यही अवस्था छ । रामनरेश माविका प्रधानाध्यापक रामजितप्रसाद चौधरीले विद्यालय र गाउँपालिकाको शिक्षा शाखा दुवै धानेका छन् ।

विद्यालय समयको अघि र पछि गाउँपालिकाको कार्यालय हेर्ने गरेको प्रअ चौधरीले बताए । ‘१० बजेदेखी ४ बजेसम्म त विद्यालयमै हुन्छु । विद्यालय अघि र पछि शिक्षा शाखाको काम गर्ने गरेको छु ।’ प्रअ चौधरीले भने ‘दुवैतिर काम गर्न त समस्या नै हुन्छ । तर पनि दिएको जिम्मेवारी पुरा गरेको छु ।’ कहिलेकाँही दुबै तिर बैठक पर्दा समस्या समय व्यवस्थापन गर्नुपरेको उनले सुनाए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले कर्मचारीको माग गरेको तर आश्वासन मात्र पाइरहेको बताए । ‘जिल्ला शिक्षा समन्वय इकाइमा भनिरहेका छौं । अब उपलब्ध गराउँछौ भन्नुहुन्छ ।’ उनले भने ‘प्रअबाट पालिकाको काम गराउँदा समस्या त हुने नै भयो । तर पनि उहाँले विद्यालयको पढाइलाई असर नपर्ने गरी काम गरिरहनुभएको छ ।’

गैडहवा र रोहिणी गाउँपालिका बाहेक मर्चवार क्षेत्रका ३ वटा गाउँपालिकामा पनि शिक्षा शाखामा कर्मचारी छैनन् । कोटयीमाई, सम्मरीमाइ र मर्चवारी गाउँपालिकामा भने प्रधानाध्यापक बाहेक विद्यालयका शिक्षकलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको छ । रुपन्देहीका जिल्ला शिक्षा समन्वय अधिकारीले दिपेन्द्र ढकालले पालिकाको शिक्षा शाखाको नियमित काम प्रअ तथा शिक्षकबाट भएको अन्य महत्वपूर्ण काममा शिक्षा समन्वय इकाइले सहयोग गर्ने गरेको बताए ।

‘अधिकृत स्तरकै कर्मचारी चाहीने अवस्थामा हामीले इकाइबाट पनि सहयोग पुर्याएका छौं ।’ उनले भने ‘प्राविधिक काम, विद्यालय व्यवस्थापन गठन, शिक्षकहरुको कार्यसम्पादन मुल्यांकन लगायतका कुरामा हामीले सहयोग गरिरहेका छौं ।’

समायोजनका बेला रुपन्देहीको दक्षिणी भेग तर्फ कर्मचारी जान नखोज्दा पालिकाको शिक्षा शाखा रिक्त हुन पुगेको हो । लोकसेवा आयोगबाट नयाँ शिक्षा सेवाका अधिकृतहरु छनोट भएर आएपछि मात्र पालिकाको शिक्षा शाखाले कर्मचारी पाउने छ । यो खबर बुटवलबाट प्रकाशन हुने दैनिक पत्रमा प्रकाशित छ ।

 
 
  
 

You may also like