हर्क साम्पाङको प्रशंसा गर्दै बालेनले भने–धरान श्रम सँस्कृतिका लागि विश्वमै अनुकरणीय

‘धरानमा यलम्बरलाई मानिन्छ, काठमाडौंमा आकाश भैरव’

by समतल अनलाइन

सुनसरी । काठमाडौँ महानगरका मेयर बालेन (बालेन्द्र) शाहले धरानका मेयर हर्क साम्पाङ राईलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । आज (शुक्रबार) धरान उत्सवको उद्घाटनमा धरान पुगेका मेयर शाहले आकाश भैरवको उपहार दिएका हुन् ।

कार्यक्रममा मेयर शाहले धरान उपमहानगरपालिको प्रशंसा समेत गरेका छन् । धरानको श्रम संस्कृति विश्वका लागि अनुकरणीय भएको उनले बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देश मात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । उनले काठमाडौंभन्दा पनि धरान फेसनमा अगाडि रहेको बताए । ‘धरान डे’ को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रमसंस्कृति समेत अनुकरणीय रहेको बताए ।

‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरुले सरकारको बजेट विना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, शाहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’ बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौंमा आकाश भैरवलाई ।’ यसअघि पटक–पटक सामाजिक सञ्जालमा दुई मेयरबीच भनाभन हुने गरे पनि यस कार्यक्रममा भने सुमधुर सम्बन्ध देखिएको छ ।

 
 
  
 

You may also like