ओली हुने भए पाँच वर्षकै लागि प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

by समतल अनलाइन

काठमाडौं । एकताको १८ महिनापछि सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच औपचारिक रुपमा कार्य विभाजन भएको छ ।

नेकपा सचिवालयको वैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री रहने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

यसअघि दुई अध्यक्षबीच कार्यकारी अधिकारका विषयमा लिएर वहस र असमझदारीहरु उठ्दै आएका थिए ।

योसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति टुङ्गिएको छ ।मंगलबार बसेको सचिवालय बैठकले अब प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुने गरी जिम्मा दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

‘केपी शर्मा ओली र प्रचण्ड वरियता क्रम यथावत छ । प्रधानमन्त्रीको हैसियतमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा लाग्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ‘आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने, प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भयो ।’ उनले पार्टी सरकार र सरकार सञ्चालनमा अध्यक्षद्वयले समन्वय गर्ने बताएका छन् ।

 
 
  
 

You may also like