बंगलादेशी राष्ट्रपति हमिदसँगको शिष्टाचार भेटवार्ताका लागि यस्तो छ कार्यतालिका

by समतल अनलाइन

नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बुधबार) देखि उच्चस्तरीय भेटवार्ता गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारक मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा आएका हमिदले अपरान्ह साढे ४ बजे राष्ट्रपति भण्डारीलाई भेट्नेछन् ।

अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने छ । बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

रात्रिभोजअघि बुधबार अपराह्न सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ बजेर ४० मिनेटमा बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

त्यस्तै बिहान सवा ११ बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हमिदसँग शिष्टाचार भेट गर्ने छन् ।

समृद्धमा सहयोग

राष्ट्रपति हमिदसँग मङ्गलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गरे । शिष्टाचार भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको थियो । बङ्गलादेशका राष्ट्रपति हमिदले नेपालको न्यानो स्वागतका लागि नेपाली जनता र सरकारलाई धन्यवाद दिएका थिए ।

भेटका अवसरमा नेपालको पर्यटन, लगानी र आपसी सहकार्य गर्न सकिने विषय र यसअघि भइरहेका सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको जानकारी परराष्ट्रमन्त्री ज्ञवालीले दिए ।

मन्त्री ज्ञवालीले राष्ट्रपति हमिदलाई आगामी अप्रिलमा नेपालले सगरमाथा संवाद र जलवायु परिवर्तनको समस्या समाधान गर्न मिलेर सहकार्य गर्नका निम्ति आग्रह गरेका थिए ।

 
 
  
 

You may also like