आइतबार स्थगित संघीय संसदका दुवै सदनको आज बैठक बस्दै

काठमाडौँ । प्रतिपक्षी तीन दलले अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) बस्दैछ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्णपाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठकमा अवरोध गरेका थिए । बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि बैठक सारिएको थियो ।

अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरे पनि उनीहरूसँग कुरा नमिलेपछि सोमबार बिहान ११ बजे बस्ने गरी समय निर्धारण गरिएको छ ।

यस्तै नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक पनि आइतबार स्थगित भएको थियो । आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो । त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

आइतबार बसेको दोस्रो बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको थियो । अर्को बैठक आज दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।

 
 
  
 

You may also like