नमस्तेका विद्यार्थीले कराँते प्रतियोगितामा नेपाललाई दिलाए ८ पदक

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीका विद्यार्थीले हालै मलेसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपाललाई ८ पदक दिलाउन सफल भएका छन् । नमस्ते एकेडेमीका विद्यार्थीले प्राप्त गरेको ५ स्वर्णसहित नेपालले कूल ७ स्वर्ण पदक प्राप्त गरेको थियो । नेपालले समग्रमा कूल १० पदक जितेको थियो ।

सम्पन्न प्रतियोगितामा नमस्ते एकेडेमीका विद्यार्थीले नेपाललाई उपाधी दिलाउनमा हाबी देखिए । नमस्ते एकेडेमीका विद्यार्थीले ५ स्वर्ण, १ रजत र २ कास्य पदक दिलाएका थिए । विद्यालयकी प्रशिद्धी शर्मा, देवकुमार शाह, प्रजेश शाह, अरुन शेरचन र रिदेश बस्यालले विभिन्न तौल समूह तथा फरक फरक विधामा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यसैगरी आकृति कंडेलले रजत तथा संयाम कंडेल र वैश्नमी वर्माले कास्य पदक दिलाउन सफल भएका हुन् । १२ देखि १४ मे सम्म मलेसियामा सञ्चालन भएको प्रतियोगितामा सहभागी हुन यही वैशाखको २६ गते नेपाली टीम मलेसिया प्रस्थान गरेको टीम म्यानेजर शोभाखर पन्तले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन नेपाल सहित मलेसिया, भारत, इण्डोनेसिया, सिंगापुर, श्रीलंका लगायतका देशको सहभागीता रहेको नेपाल करांते डो संघका प्रमुख प्रशिक्षक तथा संस्थापक अध्यक्ष हरिशरण केसीले जानकारी दिए ।

 
 
  
 

You may also like