रूपन्देही सुपरलिगः सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी

भैरहवा ।लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको अन्तिम खेलमा विजयी भएको छ । एक खेल अगावै फाइनलमा पुगेको खुकुरीले बिहीबार भएको सुपर फोरको अन्तिम खेलमा तिरुपति क्रिकेट क्लबमाथि १ सय १८ रनको फराकिलो जित निकालेको हो । सुपर फोरमा सबै जित निकाल्न सफल लुम्बिनी खुकुरीले अब शनिबार हुने फाइनलमा वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि भिड्ने छ ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रनको उच्च योगफल बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेल्दै १ सय १४ रनको योगदान दिए । यस्तै, निश्चल चौधरीले २६, साहब आलमले २४, संदीप रजालीले १३ र धिरज शाहीले १२ रन बनाए । बलिङमा तिरुपतिका तुलबहादुर थापाले ५, वीरेन्द्र मल्लले २, बसिर अहम्मद, विवेक यादव र संदीप मौर्यले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपति २२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २२ रनमा समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका अजयकुमार चौहान र इकलाख वारिसले समान ३–३ तथा धिरज शाहीले २ विकेट लिए । तिरुपतिका नन्दलाल चाईले २८, तुलबहादुर थापाले २४, विवेक यादवले १८, बसिर अहम्मदले १४ र अमन गुप्ताले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । खेलमा लुम्बिनी खुकुरीका प्रज्वल थापा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

 
 
  
 

You may also like