‘प्रेमगीत ३’ मोसन टिजर : योद्धा अवतारमा देखिए प्रदीप

by समतल अनलाइन

यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । कात्तिक २२ गतेबाट फ्लोरमा निस्कन लागेको फिल्मको टिजर पोस्टरमा चकलेटी ब्वाई प्रदीप खड्का फिचर्ड छन् । उनलाई योद्धा अवतारमा देख्न सकिन्छ । घोडामा सवार उनको अनुहार रगतले लतपतिएको छ । उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्ने देखिन्छ ।

छायांकन अगावै आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘प्रेमगीत ३’ मा प्रदीपले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । भने, यसपटक ‘गीत’ को भूमिकामा नव-अभिनेत्री क्रिस्टिना गुरुङ देखिँदैछिन् । यो फिल्मको अघिल्लो दुई सिरिज प्रेममा आउने उतारचढावमा केन्द्रित थियो । तेस्रो श्रृंखला २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको हो ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर फिल्मको निर्देशन गर्दैछन् । प्रदीप र क्रिस्टिनाका अलावा फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता शिवले फिल्ममा राजाको भूमिका निभाउँदैछन् ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह-निर्मातामा छन् ।

मोसन टिजर हेर्नुहोस् :-

 
 
  
 

You may also like