आनीसँग गीत रेकर्ड गर्न बलिउड गायक अजय र अतुल काठमाडौंमा

by समतल अनलाइन

काठमाडौं । नेपाली गायिका आनी छोइङ डोल्मासँग गीत गाउनका लागि बलिउडका चर्चित गायक तथा संगीतकार अजय र अतुल काठमाडौं आइपुगेका छन् । यसैसाता काठमाडौं आएका अजय–अतुल र आनीको सांगीतिक सहकार्य रहेको गीत बालाजुको एक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।

बलिउड फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टको मुम्बईस्थित अडिटोरियमको शुभारम्भ समारोहका लागि प्रस्तुत गरिने गीतमा आनीले स्वर दिएकी छिन् । उक्त गीतमा संगीत संगीतकार अजय र अतुलले गरेका हुन् । आनीसँगको सांगीतिक सहकार्यका लागि नेपाल आएका यी दाजुभाइ गीत रेकर्डिङ सकेर सोमबार नै मुम्बई फर्किएका छन् ।

भारत वर्षमा भएका सबै धर्म, सम्प्रदाय र युगलाई समेट्ने किसिमले कम्पोज भइरहेको उक्त गीतमा आनीले बौद्ध धर्मको तर्फबाट गीत गाएकी हुन् । गीतका सन्दर्भमा आनी भन्छिन्, ‘हामीले दुई दिन लगाएर उक्त गीत रेकर्ड गर्‍यौं ।’ फिरोज अब्बास खानले निर्देशन गर्ने उक्त कार्यक्रममा बलिउडका अजय–अतुलले आफ्नो प्रस्तुती दिने छन् ।

 
 
  
 

You may also like