काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले केन्द्रीय सुरक्षा समितिको बैठक राखेर देशको पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका छन् ।
आज (मंगलबार) गृह मन्त्रालयमा नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको सुरक्षा समितिको बैठक बोलाएका हुन् । बैठकमा गृह सचिव विनोदप्रकाश सिंह तथा सहसचिव फणिन्द्रमणि पोखरेल पनि सहभागी थिए । मन्त्रीमा नियुक्त भएको दोस्रो दिनमै उनले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
बैठकमा सुरक्षा निकायका प्रमुखले काम कर्तव्यबारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएका छन् । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेसँग पहिलो बैठक भएकाले सुरक्षा निकायको प्रचलनबारे जानकारी गराएको सहसचिव एवम् गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बैठकमा गृहसचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।