रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो । डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।
घुसका लागि मोलमोलाई गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पुस १० मा साँझ निवासबाट नियन्त्रणमा लिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयस्थित डिएसपी क्वार्टरमा राखिएको छ ।
बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका किसन बिकसँग उनले घुसको मोलमोलाई गरेको आरोप छ । किसनको साथबाट बरामद गरेको ३४ तोला २१ लाख सुन फिर्ता गरे बापत उनले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट साढे ८ लाख नगद र साढे ९ लाखको चेक बरामद गरेको छ ।