साईग्लोबल कपः मुनलाइट र न्यु होराइजन विजयी

by समतल अनलाइन

भैरहवा ।रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलमा मुनलाइट उच्च मावि र न्यु होराइजन कलेज विजयी भएका छन् । मुनलाइटले ग्रिनप्लान्ट उच्च माविलाई ३ विकेट र न्यु होराइजनले रुपन्देही लीलाराम न्यौपाने उच्च माविलाई ४० रनले पराजित गर्दै जित निकालेका हुन् ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको ग्रिनप्लान्टले ८ विकेटको नोक्सानीमा ८८ रनको सामान्य योगफल बनाएको थियो । मौसमका कारण १६ ओभरमा झारिएको उक्त खेलमा ग्रिनप्लान्टका लागि अर्जुन रायमाझीले २१, अर्पण पौडेलले १३ र बिमल रसाइलीले १२ रन बनाए । बलिङमा मुनलाइटका अनिष यादवले ३, जाबेद मुस्तफा पठान खानले २ तथा दिनेशलाल यादव र प्रदीप साहनीले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा मुनलाइटले ९ दशमलब १ ओभरमा ७ विकेटको नोक्सानीमा ८९ रन बनाउँदै जित निकाल्यो । उसका लागि अनिष यादवले २९, आषिश ठाकुर र जैनउद्दिन अन्सारीले नटआउट समान ५–५ रन बनाए । बलिङमा ग्रिनप्लान्टका अर्जुन रायमाझीले ४, बिमल बश्यालले २ र अनिष भुसालले १ विकेट लिए । मुनलाइटका अनिष यादव म्यान अफ द म्याच भई पुरस्कृत भए ।

यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रनको योगफल बनायो । उसका लागि सुमित पराजुलीले २३, अंकित बीएमले १९, राहुल भण्डारीले १४ र आषिश लोहनीले १२ रन बनाए । बलिङमा लीलारामका रमेश कुर्मीले ३, अर्जुन कारुसले २ तथा तुलबहादुर थापाले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लीलाराम १६ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमै समेटियो । उसका लागि सन्तोष यादवले २१, तुलबहादुर थापाले १३ र अभिषेक पासवानले नटआउट १० रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका महेश भरले ५, सुमित पराजुली र निश्चल ज्ञवालीले समान २–२ तथा अमर मिश्राले १ विकेट लिए । न्यु होराइजनका महेश भर म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

 
 
  
 

You may also like