साईग्लोबल कपः शान्ति नमूना र सिद्धार्थ विजयी

by समतल अनलाइन

भैरहवा ।रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार सम्पन्न दुई खेलमा शान्ति नमूना मावि र सिद्धार्थ इन्टरनेशनल कलेज विजयी भएका छन् । शान्ति नमूनाले सेन्टजोसेफ कलेजलाई ३ विकेट र सिद्धार्थले नेपथ्य कलेजलाई ४२ रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सेन्टजोसेफले निर्धारित खेलमा १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनायो । उसका लागि शुसान्त खरेलले ३८ र निरज गौतमले १३ तथा अजय यादवले ११ रन जोडे । बलिङमा शान्ति नमूनाका रोशन बश्याल र राजीव खड्काले समान ३–३ तथा सागर भण्डारी, जय गोदार कुशल बेल्बासेले १–१ विकेट लिए ।

प्रतिउत्तरमा शान्ति नमूनाले १९.१ ओभरमा ७ विकेटको क्षतिमा ८८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा राजी खड्काले नटआउट २९ र आयुष शर्माले नटआउट २० रन बनाए । बलिङमा सेन्टजोसेफका निरज गौतमले ३, कृष्ण चौधरी, अंकित विक, मनिष थापा र निरज यादवले समान १–१ लिए । राजीव खड्का म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको सिद्धार्थले निर्धारित खेलमा ३ विकेट गुमाउँदै १ सय ८२ रनको विशाल योगफल बनायो । उसका लागि जितेन्द्र साहनीले आकर्षक शतक हान्दै १ सय १६ रन बनाए । उनी खेलमा म्यान अफ द म्याच पनि भए । यस्तै, हिलसन क्षेत्रीले ३७ रनको योगदान दिए । बलिङमा नेपथ्यका नितेष न्यौपाने, सुशान्त ताम्राकार र अंकित क्षेत्रले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपथ्यले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रन मात्रै बनाउन सक्यो । उसका लागि कृष्ण भुसाल तथा अंकित क्षेत्रीले समान ४२–४२ रन बनाए भने भुवन गैह्रेले १७ र विर्मश थापाले १३ रन बनाए । बलिङमा सिद्धार्थका जितेन्द्र साहनीले सर्वाधिक ४ विकेट लिँदा हिलसन क्षेत्री र दीपक डुम्रे तथा निरज भण्डारीले समान २–२ विकेट लिए ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

 
 
  
 

You may also like