देशभर आज उधौली पर्व मनाइँदै

by समतल अनलाइन

काठमाडौँ । प्रकृति पुजक किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली आज (बिहीबार) देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँत राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ ।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो ।

बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा÷पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली पर्व मनाउने तरिका फरक छ ।

उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौलीझैं ढोल झ्याम्टा बजाउँदै नाचगान समेत गर्ने गरिएको छ ।

 
 
  
 

You may also like