साफ च्याम्पियनसीप : भूटानविरुद्ध नेपालको सात गोलको जीत

by समतल अनलाइन

बंगलादेश । १५ वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल ग¥यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्योे ।

नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् भने सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् । वर्षाले खेल सुरुवाती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खोलिन् । त्यस्तै उनले खेलको १७औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५औं मिनेटमा थप एक गोल गरिन् ।

नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औँ मिनेटमा गोल गरिन्् भने उनले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औँ मिनेटमा एक गोल गर्दै नेपाललाई ७–० गोलको जित दिलाइन् ।

यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भूटानको सहभागिता रहेको छ । अब नेपालले आफनो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

 
 
  
 

You may also like