डेंगु संक्रमित बुटवलका पत्रकार टेक मास्कीको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुई सातअघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज (बुधबार) बिहान मृत्यु भएको हो ।
स्याङजाको कालिगण्डकी गाउँपालिका–३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।

बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

रानाले दुई दशक लामो पत्रकारितामा स्वच्छ छवि स्थापित गरेका थिए । केही वर्षअघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसँगै तीन छोराछोरीको पालनपोषण र शिक्षादीक्षामा चुनौती थपिएको छ ।

 
 
  
 

You may also like