हल्कादेखि मध्यम वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । देशका विभिन्न भागमा आज (आइतबार) पनि पानी पर्ने मौसमविदले बताएका छन् । केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ । प्रदेश-१ का केही स्थानमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like