लुम्बिनीमा मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

लुम्बिनी । लुम्बिनीमा आगामि मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । बुधबार बसेको लुम्बिनी बिकास कोषको परिषद बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि मंसिरमा अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।

कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी गर्ने निर्णय पनि गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा बिशेष ध्यान दिने बताए । उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सचीमा सूचीकृत गर्ने बताए ।

कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरि सरकारले २०२३ देखी २०३३ लाई भ्रमण दशक तोकेर अगाडी बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाईमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्ने गरि मन्त्रालयले काम गर्ने समेत प्रतिबद्धता जनाए ।
अन्र्तराष्ट्रिय गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थललाई थप ब्यवस्थित रुपमा सुचारु गर्ने बताए । उनले विमानस्थलबाट लुम्बिनीमा बढी भन्दा बढी पर्यटक भित्रयाउने सरकारको लक्ष्य रहेको बताए । लुम्बिनी परिषद बैठकमा आर्थिक बर्ष २०७९÷०८० को बजेट, निति तथा कार्यक्रम पेश गरिएको छ । नीति कार्यक्रममा लुम्बिनीको विकासका योजनाहरु अघि सारिएको छ ।

त्यस्तै परिषदले कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सुचिकृत गर्नका लागी आवश्यक रणनिति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता ऐजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । श्रेष्ठ मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका हुन । मंगलबार साँझ लुम्बिनी पुगेका मन्त्री श्रेष्ठले लुम्बिनीको मायादेवी मन्दिर, रामग्राम र देवदहको भ्रमण गरेका छन ।

देवदहमा गोल्डेन टेम्पल उद्घाटन

लुम्बिनी विकास कोषले गौतमबुद्धको मावली गाउँ देवदहमा निर्माण गरिएको गोल्डेन टेम्पल र फोटो म्यूजियमको उद्घाटन गरिएको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गोल्डेन टेम्पल र फोटो म्यूजियमको उद्घाटन गरेका हुन। उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहेको बताए ।

उनले लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न जरुरी रहेको बताए । उद्घाटन समारोहमा देवदह नगरपालिका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), देवदह वडा न. ४ का वडाअध्यक्ष दमननाथ रेग्मी लगायतले बोल्दै अब देवदहको विकासमा बिशेष जोड दिने बताए ।

 
 
  
 

You may also like