भक्तपुर सल्लाघारीमा रुख ढलेर बस र स्कुटर किच्यो, तीनको मृत्यु, १२ घाइते

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नम्बरको स्कुटर थिचिएको उनले जानकारी दिए ।

बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा खटिएका प्रत्यक्षयदर्शीले बताएका छन् । बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको छ। दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मृतकमध्ये नितेश खर्वुजाको सनाखत भएको हो। अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पुर्‍याउने, सडकबाट रुख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काममा लागेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक पाण्डेले घाइतेको संख्या अझै बढ्नसक्ने बताए । मृतक तथा घाइतेको पहिचान भने खुलेको छैन । धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।

यसैबीच घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले भक्तपुरका प्रजिअ शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका छन्।

 
 
  
 

You may also like