कांग्रेस निकट पत्रकारलाई देउवाले भने : नियोजित र झुठा समाचार बढ्यो, निष्पक्ष पत्रकारिता गरौँ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय नियोजित रुपमै झुठा समाचार लेख्ने र विभिन्न लान्छना लगाउने प्रवृति बढेको बताएका छन् । निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्र बलियो बनाउने भन्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरूरी रहेको बताएका हुन् ।

शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा बताए ।

‘पछिल्लो समय नियोजित रुपमै झुठा समाचार लेख्ने र विभिन्न लान्छना लगाउने प्रवृति बढेको पाइएको छ,’ उनले भने, ‘त्यसलाई कमजोर बनाउने निष्पक्ष पत्रकारिता अति नै आवश्यक छ।’

कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको उनले स्मरण गरे । ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ,’ उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाए ।

फरक प्रसंगमा देउवाले केहि समयभित्रै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताए। सरकार आम निर्वाचनको तयारीमा रहेकाले निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाउन पनि उनले पत्रकारहरुसँग आग्रह गरे।

हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा देशभरबाट १ हजार ६४० प्रतिनिधि सहभागी छन् । युनियनले ९ वर्षअघि पोखरामा महाधिवेशन गरेपछि महाधिवेशन गर्न सकेको थिएन। चार पटक स्थगित महाधिवेशन अहिले गरिएको हो। भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको जारी उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेता पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमका अतिथिको रूपमा सहभागी भएका हुन् । प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल नै बनाएर उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।

 
 
  
 

You may also like