११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १.५ प्रशितले बृद्धि भई रु सात अर्ब ५१ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार कूल तीन लाख १३ हजार ३६७ नेपालीले त्यस्तो अनुमति लिएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई दुई लाख ५९ हजार ९१ बराबर पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भइ रु १० खर्ब ६ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

 
 
  
 

You may also like